राष्ट्रिय सहमतिको सरकार आवश्यक: एमाले माधवकुमार नेपाल

 नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थानीय, प्रदेश र संसद्को निर्वाचन, भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण लगायतका कामका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।
एमाले नेता नेपालले नेपाली कांग्रेस र मधेशवादी दलसहितको राष्ट्रिय सरकार गठन गरेर मात्र हाल देखिएका समस्या समाधान गर्न सकिने बताए। पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले नेता नेपालले अबको डेढ वर्षभित्र गर्ने कामको सूची बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने र त्यस्तो सरकार गठन गर्दा संविधानले परिकल्पना गरेका तहको निर्वाचन गर्न सजिलो हुने बताए।
उनले राष्ट्रिय सहमतिको सरकार नभएकै कारण सबैभन्दा ठूलो दल काँग्रेसले लगातार संसद्को बैठक अवरुद्ध गरिरहेको र कानून बनाउने काम नै प्रभावित हुन पुगेको भन्दै सहमतीय सरकार गठनका लागि कुनै दलले पनि प्रधानमन्त्री आफैंलाई चाहिन्छ भनेर लफडा गर्न नहुने बताए।
एमाले नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लगाए। उनले भित्रभित्रै गुटलाई प्रश्रय दिने काम भइरहेको भन्दै यसबाट पार्टी कमजोर हुनेतर्फ नेतृत्व सचेत हुनुपर्ने बताए। सेटोपाटीमा समचार छ ।