प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संविधानको सपथ खाएर मन्त्री बनेकाहरुले नै संविधान विपरित गतिविधि गरिरहेको भन्दै यस विषयमा मुकदर्शक भएर बस्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ।
व्यवस्थापिका संसद्को विहिवारको बैठकमा कांग्रेसका सांसद्हरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले संविधान विपरित गणतन्त्र र संघीयताको विरोधमा गतिविधि गर्दा पनि मौन बसेको भन्दै यस विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गरेका हुन्। कांग्रेसकी सचेतक इश्वरी न्यौपानेले सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु नै संविधानको विरोधमा सार्वजनिक अभिव्यक्ति दिन र आन्दोलन गर्न व्यस्त रहेका बेला सरकारले संविधान कार्यान्वयन गर्छ भनेर पत्याउन नसकिने बताइन्। उनले उपप्रधानमन्त्रीद्वयका गतिविधिबारेमा प्रधानमन्त्री ओली मुकदर्शक बनेको आरोप लगाउँदै मौन बस्नुको कारण स्पष्ट पार्न ध्यानाकर्षण गराइन्।
बैठकमा नेपाल मजदूर किसान पार्टीकी सांसद् अनुराधा थापामगरले म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीका नाममा युवाहरुलाई बेचिरहेको भन्दै त्यस्ता कम्पनीका संचालकलाई जेल सजाय हुने गरी मुद्धा दायर गर्न सरकारको ध्यानाकर्षण गराए। उनले युवाहरुलाई विदेश पठाउनका लागि म्यानपावर कम्पनीलाई अनुमति दिने सरकारले आफ्ना कामदार विदेशमा मारिंदा निन्दा गर्नु दोहोरो चरित्र भएको बताए।
बैठकमा सांसद्हरुले बाढी पहिरोका कारण देशका विभिन्न स्थानका जनताले धनजनको क्षति व्यहोर्नु परिरहेको भन्दै पीडित परिवारको उद्दार र क्षतिपूर्तिमा गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। सेतोपाटीमा समाचार छ ।