निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पचुईदेखि बरैयासम्मको सडक निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता समितिका पदाधिकारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
बेलौरी नगरपालिकाको पचुईदेखि बरैयासम्मको अधुरो सडक निर्माणका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट हिनामिना भएको जनाउँदै उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र चन्द र सचिव वीरेन्द्र चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरमा उजुरी दिएका हुन् ।
उपभोक्ता समितिका उपाध्यक्ष, सचिवसहित ५२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी अख्तियार कार्यालयमा उजुरी दिएको सचिव चन्दले बताए। उनका अनुसार सडकमा ग्राभेलिङ गर्नका लागि अध्यक्ष र सचिवको नाममा संयुक्त खाता सञ्चालन गर्नका लागि स्थानीय विकास अधिकारी मोहन पौडेलले तोक आदेश गरेको भए पनि आदेश कार्यान्वयन नगरी अध्यक्ष एक्लैले खाता सञ्चालन गरी अनियमितता गरेको उनले बताए।
जुन ठाउँमा सडक निर्माण गर्नुपर्ने हो त्यहाँ गरिएन उनले भने- मापदण्ड विपरीत कमसलखाले ग्राभेलिङ गरी अनियमितता गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष भवानी चन्दले सडक निर्माणका लागि आएको रकममा कुनै किसिमको अनियमितता नभएको बताए। उनले भने-फ्रिज जान लागेको रकम ल्याएर जनताको हितमा प्रयोग गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरका सूचना अधिकारी विष्णुसिंह विष्टले कार्यालयमा सडक निर्माणमा अनियमितता भएको भनेर परेको उजुरीमाथि छानबिनको कार्य भइरहेको बताए। सेतोपाटीमा समाचार छ ।