लगातारको वर्षाले सप्तकोशीको बहाव यो वर्षकै उच्च

पहाडी जिल्लाहरुमा भइरहेको लगातारको वर्षा र वर्षासागै विभिन्न खोला तथा नदीमा आएको बाढीले गर्दा गएरातिदेखि सप्तकोशी नदीमा पनि पानीको बहाव बढेको छ । पछिल्लो केही सातादेखि सप्तकोशीमा पानीको बहावमा घटबढ भइरहेको अवस्थामा गएराति यसवर्षकै सबभन्दा बढी बहाव मापन गरिएको छ ।
 कोशी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गएराति सप्तकोशी पानीको बहाव २ लाख ३३ हजार ८ सय ८० क्यूसेक प्रतिसेकेन्ड मापन भएको थियो । तर आज बिहान भने कोशीको बहाव केही कमी आएको छ । बिहान ९ बजेको मापन अनुसार बहाव १ लाख ९८ हजार ९ सय ८५ क्यूसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । पहाडी जिल्लाहरुमा हुने वर्षा अनुसार नै कोशी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको र अहिले कूल ५६ वटा ढोकामध्ये २० वटा खोलिएको अधिकारीहरुले जनाए ।
 
९ लाख क्यूसेक प्रतिसेकेन्ड पानी बवाव गर्ने क्षमता रहेको कोशी ब्यारेजमा वर्षौंदेखि थुप्रिएको बालुवाले तीन लाख क्यूसेकमै पानी झण्डै पुल नै छुने गरी बग्ने गर्छ । बहाव क्षमता कम भएकाले अहिले डेढलाख क्यूसेक भन्दा बढी पानी हुनासाथ कोशी ब्यारेजमा खतरा सूचक रातो झण्डा लगाउने गरिएको छ ।

सप्तकोशीमा पानीको बहावको इतिहास
वर्षा लाग्ने बित्तिकै सप्तकोशी नदीको पानीको बहाव सधैं समाचार बन्ने गरेको छ । पानीको बहाब कम हुँदा वा बढी हुँदा दुवै संचारमाध्यमहरुमा त्यसले प्रमुखताका साथ स्थान पाउने गरेका छ । बहाव बढ्ने क्रम सुरु हुँदा नदीले कटान गर्ने सम्भावना बढदै जाने तटबन्ध र कोशी ब्यारेज नै जोखिममा पर्ने सम्भावनाका कारण कोशीको पानीको बहाबलाई सबैले सम्वेदनशील भएर हेर्ने गरेका छन् ।
 
सन् १९६२ का सप्तकोशीको ब्यारेज निर्माण हँुदा त्यति बेला साढे ९ लाख क्युसेक पानीको बहाबको क्षमता भएको बताइएको थियो । भारतको कोलकता स्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले सन १९५२ देखि सुरु गरी १९६२ मा कोशी ब्यारेजको निर्माण कार्य पुरा गरेको थियो । त्यसपछि कोशीको पानीलाई ब्यारेजमा नियन्त्रण गर्ने प्रयासको थालनी भएको हो । 
कोशी ब्यारेजको निर्माणताका नदीमा बालुवा जमेको थिएन र त्यति बेला साढे ९ लाख क्युसेक क्षमता भएको बताइएको थियो । ब्यारेज निर्माण भएको ६ वर्ष पछि मात्र ब्यारेज भएर सबैभन्दा बढी पानीको बहाब भएको मापन गरिएको थियो ।
 
कोशी ब्यारेज स्थित नियन्त्रण कक्षको रेकर्ड अनुसार सन १९६८ को ५ अक्टुबरका दिन ब्यारेज भएर अहिले सम्मकै सबैभन्दा बढी ९ लाख १३ हजार क्युसेक पानीको बहाब भएको थियो । त्यति बेला उक्त बहाब भएको दिन पुर्वी र पश्चिमी नेपाललाई जोडने केसी ब्यारेजको पुल नै थर्किएको थियो ।
त्यसपछिको अत्यधिक बहाब १२ अगस्ट, १९९० मा पाँचलाख ९० हजार क्युसेक मापन गरिएको थियो । ५ अक्टुबर, १९६८ देखि १२ अगस्ट, १९९० को बीचमा पाँचलाखभन्दा कम र एकलाख ५० क्युसेक भन्दा माथी पानीको बहाब भएको नियन्त्रण कक्षको रेकर्डमा उल्लेख छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाब हुने बितिकै खतराको सुचक भन्दै रातो झण्डा फहराउनुका साथै रातो बती बाल्ने नियम छ । कान्तिपुरमा समाचार छ ।