अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पाल्पामा मंगलबार चार जनाको पुरिएर ज्यान गएको छ। गोठादीमा एकै घरका घरमुलीसहित तीन जना र झुम्समा एक जनाको ज्यान गएको हो।
गोठादी-५ दमारका ४५ वर्षीय तमबहादुर कनौजेको घर माथिबाट खसेको पहिरोले कनौजेसहित श्रीमती २३ वर्षीया खगिसरा कनौजे र १० वर्षीया छोरी योशदा कनौजे घरभित्रै च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए।
राति घर पुरिएपछि घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको लाश बिहान निकालिएको हो।
दोभान-१ झुम्सामा घर माथिबाट बिहानपख खसेको पहिरोले पुरिएर १५ वर्षीया अस्मिता विकको ज्यान गएको छ। पहिरोले हरिलाल परियार, किसन विक, अमर बुढामगर, इन्द्रबहादुर क्षेत्री, धनवीर विक, टेकबहादुर विक र उजेली विकको घर बगाएको प्रहरीले जनाएको छ।
घरमा रहेको खाद्यान्य लत्ताकपडा सबै बगाएपछि उनीहरूले लगाएको कपडामात्रै बचेको हरिलाल परियारले बताए। अव्यस्थित रुपमा बस्तीमाथि चुनढुंगा खानी जाने बाटो खनिएकोले पहिरो झरेर बस्ती बगाएको स्थानीयले बताएका छन्। पहिरोले झुम्साका अन्य बस्ती पनि जोखिममा परेको छ।
पाल्पाको रुधाम क्षेत्रसहित कालीगण्डकी किनारका बस्ती नदीको बहाव बढेपछि उच्च सर्तकता अपनाउन प्रहरीले अनुरोध गरेको छ। सिद्धार्थ राजमार्गका ठाउँ-ठाउँमा खसेको पहिरोले तानसेन-बुटवल सडकसहित ग्रामीण सडकहरू समेत बन्द भएका छन्। सेतोपाटीमा समाचार छ ।