अत्यधिक वर्षाका कारण डुबानमा परेका तराई जिल्लामा रोग फैलिन सक्ने चेतावनी

विशेषज्ञहरूले अत्यधिक वर्षाका कारण डुबानमा परेका तराई-मधेसका जिल्लामा झाडापखाला, हैजा, ज्वरो, जन्डिस, टाइफाइडजस्ता पानीजन्य संक्रामक रोग फैलिन सक्ने चेतावनी दिएका छन् । उनीहरूले सम्भावित प्रकोपको जोखिम न्यूनीकरणका लागि सरकार आवश्यक चिकित्सकीयलगायत उपायसहित तयारी अवस्थामा रहनुपर्ने सुभाव दिएका छन् । कान्तिपुरमा समाचार छ । 
बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, ज्वरो, जन्डिस, टाइफाइडलगायत पानीजन्य संक्रामक रोग फैलिन सक्ने तीव्र सम्भावना छ, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा। बिडी चटौतले भने, यी संक्रामक रोगका जीवाणु शरीरमा प्रवेश गरेपछि केही घण्टादेखि २१ दिनसम्ममा रोग लाग्न सक्छ ।
चटौतका अनुसार शरीरमा जीवाणु प्रवेश गरेको केही घण्टादेखि ५ दिनसम्ममा शरीरमा हैजाको लक्षण देखिन्छ । टाइफाइडको ७ देखि २१ दिन, प्याराटाइफाइडको एक दिनदेखि १० दिन, साल्मोनेलासिसको ६ घण्टादेखि ७२ घण्टा र सिएलोसिसको एक दिनदेखि सात दिनभित्र रोगको लक्षण शरीरमा देखिन सक्छ । 
चटौतले सम्भावित प्रकोप समयमै रोक्न स्वास्थ्य मन्त्रालयले औषधिसहितको चिकित्सकीय टोली तम्तयार राख्नुपर्ने बताए ।