माधवकुमार नेपालद्वारा माओवादी केन्द्र नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुने अवस्था नरहेको उल्लेख

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुने अवस्था नरहेको बताएका छन् । 
दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवले सञ्चालन गर्ने एम्बुलेन्स सेवा शुभारम्भ गर्न आएका पुर्वप्रधानमन्त्री नेपालले दाहालले सहमतीय सरकारमा आउन आग्रह गरेपनि त्यो सम्भावना नरहेको बताए । 
‘बन्न लागेका प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव गर्नुभएको थियो, तुरुन्ता तुरुन्तै एमाले सरकारमा जाने अवस्था छैन,’ उनले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि छलफल गरेको भए केही सहमति खोज्न सकिन्थ्यो ।’ 
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै सहमतीय रुप दिनुपर्ने तर्क गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको कारण सो सम्भव हुन नसकेको आरोप लगाए । ‘हिजो सुशील कोइरालाले नेतृत्व गर्दा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनायौँ, अहिले कांग्रेसका नयाँ सभापतिले सहमतीय सरकारको परिभाषा फेेर्नुभयो,’ उनले भने, ‘संविधान बनाउने र लागु गर्ने अवश्था, चुनाव गराउनुपर्ने आदी संक्रमणकालिन अवश्थामा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुपर्छ, त्यसो हुँदा संविधान संशोधन लगायतका जटिलता फुकाउन दुई तिहाई हुन जरुरी छ ।’ 
उनले गाउँपालिका गठन गर्ने सरकारको निर्णय ठिक नभएको भन्दै आलोचना गरे । ‘गाउँलाई गाउँ नै भन्नुपर्छ, इलाकालाई गाउँपालिका भनेर हुँदैन,’ उनले भने, ‘३ वटा किशोर जम्मा गरेर त्यसलाई नौजवान भयो भन्न मिल्दैन ।’
क्लवले चन्दा संकलन गरेर ११ लाखको लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको अध्यक्ष अष्टबहादुर श्रेष्ठलेे जानकारी दिए । दोलालघाट, भुम्लुटार, सापिङ, फलाटे, ज्याम्दी लगायतका गाविसका स्थानीय लाभान्वित हुनेछन् । कान्तिपुरमा समाचार छ ।