ओली नेतृत्वको सरकारको पालामा सिफारिस गरिएका १४ राजदूतको नाम फिर्ता

सरकारले ओली नेतृत्वको सरकारको पालामा सिफारिस गरिएका १४ राजदूतको नाम फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस उल्टाएको हो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ राजदूतको नाम फिर्ता लिने निर्णय सरकारले गरेको हो । परराष्ट्र सेवाबाट आएका आठ राजदूतबाहेक बाँकी राजनीतिक पृष्ठभूमिबाट आएका १४ राजदूतको सिफारिस सरकारले फिर्ता लिएको हो ।
प्रस्तावित राजदूतमध्ये परराष्ट्र सेवाका आठ राजदूतको संसदीय सुनुवाइ विशेष समितिले यसअघि नै सुनुवाई गरिसकेको छ । राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित १४ राजदूतको सुनुवाइ भने बाँकी थियो ।
संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ गरिसकेको छ ।
यसैगरी सरकारले कर्णाली अञ्चलका सबै र देशभरिका दलितलाई जन्मदर्ता गराउँदा एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले दुईजना सहसचिव राजेश्वरमान सिंह र लवदेव अवस्थीलाई सचिवमा बढुवा गरेको छ । इमेजखबरमा समाचार छ ।