नेवि संघमा प्रतिनिधी विवाद कायमै, बन्द सत्र सर्‍यो

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र नहुने भएको छ । बन्द सत्र मंगलबार दिउँसो दुईबजे देखि सुरु हुने भएको छ ।
नौं वर्षपछि आइतबार सुरु भएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा बिहान ११ बजेपछि सुरु हुने भनिएपनि प्रतिनिधि विवाद नटुंगिएकाले मंगलबार दिउँसो दुई बजेबाट सुरु हुने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थी राजनीतिमा पार्टीको हस्तक्षेपका कारण नेविसंघको महाधिवेशन सात पटकसम्म तोकिएर पनि स्थगित हुँदै आएको थियो । महाधिवेशनमा ३ हजार ४ सय प्रतिनिधि सहभागी छन् ।
तर महाधिवेशन सुरु भइसक्दा समेत ११ जिल्लाको प्रतिनिधि विवाद् भने टुंगिएको छैन । तीन दिनसम्म चल्ने महाधिवेशनमा सोमबार मनोनयन दर्ता र मंगलबार मतदानको कार्यक्रम छ । ९ वर्षपछि महाधिवेशन भएकाले नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या धेरै देखिएको छ ।
अर्को महाधिवेशनदेखि ३२ वर्ष उमेर पुगेका विद्यार्थीले नेतृत्वको अवसर नपाउने गरी विधान संशोधन हुन लागेकाले पनि नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएको हो ।
अध्यक्षमा नैनसिंह महर, जितजंग बस्नेत, मनोजमणि आचार्य, लक्ष्मण आचार्य, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई, कुन्दनराज काफ्लेलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । त्यसवाहेक विभिन्न पदमा २२ जना मनोनित गरिने छन् ।
यसअघि आइतबार महाधिवेशन उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो नभएसम्म प्रजातन्त्रलाई खतरा भइरहने तर्क गरे । उनले संविधान कार्यान्वयनका लागि नयाँ गठबन्धन बनेको दाबी पनि गरे ।
यस्तै उद्घाट्न समारोहलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनमा उत्पन्न विवाद समाधान गर्नेतर्पm ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, पूर्णबहादुर खड्का, डा रामशरण महत, डा प्रकाशशरण महत, गगन थापालगायतले पार्टीको नेतृत्व विकासका लागि संघको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै महाधिवेशन सफल पार्न सबै लाग्नुपर्ने बताएका थिए । इमेजखबरमा समाचार छ ।