लगातार वर्षाका कारण महोत्तरी जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षाबाट सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडकमध्ये ३२ अवरुद्ध तथा बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन्।
वर्षायाम सुरू भएपछि मटिहानी जलेश्वर परिक्रमा सडक, भिठामोड जनकपुर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपटी र जलेश्वर बर्दिवास सडकखण्डको यातायात सेवा प्रभावित हुने गरेको छ।
सवारी साधन चाँडै बिग्रने र हिलाम्मे सडकमा गाडी चलाउँदा हैरानी खेप्नुपरेपछि चालकहरू सो सडकमा गाडी गुडाउन मान्दैनन्। जताततै खाडल सडकमा पानी पर्नासाथ आउजाउ गर्न नसक्ने, गर्मीमा धुलोले हैरानी भोग्नुपरेपछि चालकदेखि यात्रुलाई सास्ती हुने गरेको हो।
सडकमा ठूला-ठूला खाल्टा कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ। यातायातका सवारीसाधन सञ्चालनमा आउन नसक्दा मानिसहरू सदरमुकाम जलेश्वरलगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन्।
ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समेत समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ। ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन थालेको छ। ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्क सेवाका लागि समस्या भइरहेको स्थानीयबासीले बताएका छन्।
जिल्ला विकास समिति महोतरी, परिक्रमा सडक परियोजना तथा सडक विभाग लगायतका निकायहरूबाट सडकहरूको मर्मतसम्भार तथा नयाँ सडक निर्माणका नाममा वर्षेनी करोडौं रुपैयाँ खर्चिने गरेका छन्। तिनै निकायको आँकडालाई नियाल्ने हो भने पछिल्लो एक वर्षमा महोत्तरीमा सडकको नाममा झन्डै ५० करोड भन्दा बढी रकम खर्चिएको छ। सेतोपाटीमा समाचार छ ।