पूर्वमन्त्री गोरेबहादुर खपांगीको निधन

पूर्वमन्त्री तथा जनजाति आन्दोलनका नेता गोरेबहादुर खपांगीको शनिबार राति निधन भएको छ । राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ७० वर्षीय खपांगीको निधन भएको हो ।
२०७० वैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृह अगाडि मोटरसाइकलले ठक्कर दिएपछि खपांगी लगातार उपचार गराइरहेका थिए । ठक्करले उनको टाउकोमा चोट लागेको थियो । आइफाका महासचिव संजोग लाफा मगरका अनुसार उपचारका लागि उनलाई सिंगापुरसमेत लगिएको थियो ।
खपांगी २००३ साउन २५ मा उदयपुरको थाक्लेमा जन्मिएका थिए । उनको परिवार हाल ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनका २ छोरा र २ छोरी छन् । खपांगीको शव श्रद्धाञ्जलीका लागि कलंकीस्थित नेपाल मगर संघको कार्यालयमा राखिएको छ । सोमबार खुलामञ्चमा श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गर्ने तयारी छ ।
नेपाल कम्युनिस्ट पार्टी मालेमार्फत राजनीतिमा प्रवेश गरेका खपांगी नेपाल मगर संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव हुन् । २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गठन गरेको मन्त्रिमण्डलमा खपांगी महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए । आदिवासी जनजातिले दसैं मनाउन नहुने तर्क गर्दै आएका खपांगी मन्त्री रहेका बेला राजाको हातबाट दसैंको टीका थापेपछि विवादमा तानिएका थिए । कान्तिपुरमा समाचार छ ।