मलेसिया तथा मध्यपूर्व एसियामा रहेका नेपालीलाई राहदानी शुल्क घट्यो, ५० डलर कायम

सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो ।
वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ । रासस