नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
उनले भने- संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।
सिंगापुरमा पेटको पाचनप्रणालीसम्बन्धी उपचार गराइ शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको हो- भने ।
सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाकासाथ त्यसतर्फ प्रस्थान गरेका थिए ।
पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक विदेश गएका हुन् । म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिनँ- सन्चारकर्मीको जिज्ञासमा सभापति देउवाले भने ।
तपाइँहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ? भन्ने सन्चारकर्मीको अर्काे जिज्ञासामा उनले भने- अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ, म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।