पूर्व-पश्चिम राजमार्गको कन्काई नदीमा आएको बाढीले गाउँ उच्च जोखिममा

झापा – कन्काई नदीमा आएको बाढीले शिवसताक्षी-९ नम्बर वडाका ९ वटा घर उच्च जोखिममा परेका छन्। 
 
पूर्व-पश्चिम राजमार्गको कन्काई पुल उत्तर पश्चिमको एउटा सिङ्गो गाउँ बाढीको जोखिममा छ। सो गाउमा ७२ घर रहेका छन्। शुक्रबार रातिदेखि पूर्वी पहाडी भू-भागमा वर्षा भएपछि माईखोलामा बाढी आएको थियो। 
 
बाढीले स्थानीय सरिता थापाको शौचालय बगाएको स्थानीय तुलसी न्यौपानेले बताएका छन्। उनको एकतले पक्की घर पनि बाढीले चर्काएको छ। त्यस्तै टहलदास श्रेष्ठको चौपाया बाध्ने ग्वाली पनि बाढीले बगाएको छ। बाढीले डिल्ली बास्कोटा, जमुनी राई, दीपक ऋषिदेव, शम्भु ऋषिदेव लगायतको घर जोखिममा पारेको छ। 
 
स्थानीयका अनुसार कन्काईमा आएको बाढीको भंगालोले पश्चिम क्षेत्रमा तीव्र कटान गरेपछि त्यहाँको ढुँगे बाँध पनि खतरामा परेको छ।
 
बाँधलाई बाढीले बगाउनेवित्तिकै त्यहाँका ७२ घर परिवारको उठिबास हुने स्थानिय प्रहरी चौकी माइधारले जनाएको छ। प्रहरीका अनुसार बाढीले योगी नरहरिनाथको मन्दिर पनि संकटमा पारेको छ भने नेवार समुदायको भीमसेन थान मन्दिर पनि उच्च जोखिममा पारेको छ।
 
प्रहरीका अनुसार बाढीबाट बिस्थापितलाई पुनस्र्थापना गराउने भरपर्दो स्थान नभएकाले उनीहरूको पूर्वाधार खोल्न सकिएको छैन। इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले बाढीबाट विस्थापित हुनेलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको बताए। उनले भने,  तर, कहाँ लैजाने भन्नेबारेमा समस्या भएको छ। सेतोपाटीमा समाचार छ ।