प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको उल्लेख

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताएका छन् ।
नेपाली दूतावास नयाँदिल्लीले विहीबार दिल्लीमा आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र संघीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताए ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षसँगको सहमतिलाई आफूले विशेष जोड दिएको र केही सफलता हात लागेको पनि उल्लेख गरे ।
संविधानको सर्वस्वीकार्यता बढाउनका लागि आफूले सक्दो पहल गरिरहेको र असन्तुष्टको मागलाईसमेत निकट भविष्यमा नै सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ थियो ।
संविधान मुलुकको साझा दस्तावेज भएकाले सबैपक्षको भावनालाई सम्बोधन गर्नु र उनीहरुलाई साथै लिएर जानुपर्ने आवश्यकता रहेको उनले स्पस्ट पारे ।
शान्तिप्रक्रियाका बाँकी रहेका विषयलाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको भावनालाई सम्मान गर्दै उनीहरुलाई मुलुक निर्माणको महाअभियानमा साथै लिएर जान तयार रहेको बताए ।
उनले संविधानको कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको र त्यसलाई अगाडि बढाउन प्रवासी नेपालीको पनि प्रमुख दायित्व रहने भएकाले सरकारसँग मिलेर काम गर्न आग्रह गरे ।
सो अवसरमा मूल प्रवाह अखिल भारत-नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत, अखिल भारत-नेपाली एकता मञ्च, जनसम्पर्क समिति भारतलगायत प्रतिनिधिले सीमाक्षेत्रमा नेपालीले भोग्नुपरेका समस्या, बैंक तथा वित्तीय संस्थामा नेपाली समुदायले भोग्नुपरेको व्यवधानलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने र भारत सरकारसँग नेपालीको समस्याबारे कुराकानी गर्ने विश्वास दिलाएका थिए । इमेजखबरमा समाचार छ ।