गुम्बा गाउँका छिरिङ लामाकी पत्नीलाई ज्वरोले च्याप्यो । औषधिका लागि स्वास्थ्य चौकी पुग्नै पर्ने भयो । देउसैनमा रहेको गाविसकै स्वास्थ्य चौकीबाट सिटामोल ल्याएर फर्किन भने छिरिङलाई दुई दिन लाग्यो । कान्तिपुरमा समाचार छ ।
घरबाट कस्सिएर हिँडेका छिरिङ १३ घण्टापछि मुस्किलले देउसैन पुगे । त्यही राति नै चौकीका कार्यालय सहयोगी जगत थापालाई गुहारे । थापालाई देउसैनमा सबैले डाक्टर भनेर चिन्छन् । उनै थापाबाट छिरिङले सिटामोल पाए ।
अघिल्लो दिन जस्तै दोस्रो बिहान झिसमिसेमा हिँडेका उनी झमक्क रात परेपछि मात्रै घर पुगे । गुम्बाको वडा नागरिक मञ्चका अध्यक्ष काला गुरुङका अनुसार गाउँबाट रित्तो मान्छे मात्रै एक दिनमा स्वास्थ्य चौकी पुग्न सक्छन् । बिरामी बोकेर उपचारका लागि त एक दिनमा सम्भवै छैन, उनले भने ।
गुम्बा बाजुराको सबैभन्दा विकट र टाढाको गाउँ हो । २५ परिवार रहेको गाउँमा भोटे जनजातिको बसोबास छ । स्वास्थ्य संस्था यहाँका बासिन्दाको पहुँचभन्दा निकै टाढा छ । स्वास्थ्य सम्बन्धी चेतना अभाव र भौगोलिक विकटताका कारण यहाँका बासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । सामुदायिक परियोजनामा कार्यरत सारिका देवकोटा भन्छिन्, स्वास्थ्य संस्थामा गएर उपचार गराए रोग निको हुन्छ भन्ने नै धेरैलाई थाहा छैन ।
स्वास्थ्यकेन्द्र उनीहरूका लागि अपायक र टाढा भएकाले अधिकांश विरामी उपचार सुविधाबाट वञ्चित छन् । जिल्लाबाट पाउने औषधिसमेत गाविसमा पुर्याउन कठिन छ । चौकीका स्वास्थ्यकर्मीको व्यक्तिगत विवेक र पहलबाहेक औषधि र सेवाको अनुगमन गर्ने कोही छैन । त्यसैले अधिकांश समय चौकीमा समेत औषधि अभाव भइरहने स्थानीय बासिन्दा बताउँछन् ।
बाध्यता र परम्पराले यहाँका बासिन्दाहरू जडीबुटी र झारफुककै भरपर्ने गरेका छन् ।