सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ ।
ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो ।
२२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ ।
ताल वरिपरिको जग्गा कब्जा गरी ४० भन्दा बढी परिवारले बसोवास गरेका छन् । देखतभूली गाविसका सचिव आनन्दप्रसाद भट्टले सीमा विवाद समाधान गर्नका लागि नक्सा हेरेर सीमा छुट्ट्याउनेमा सहमति भए पनि कार्यान्वयन नगरिँदा ताल संरक्षण गर्न गाह्रो परेको बताए ।
गाविस र नगरपालिकाले तालमा दाबी गर्दै आए पनि कसको क्षेत्रभित्र पर्छ भन्ने यकिन नहुँदा ताल संरक्षणमा चासो दिएको छैन सचिव भट्टले भने।
तालको वरीपरी बसोवास गर्दै आएका बासिन्दाले विसं २०५४ पछि तालक्षेत्र वरीपरीको क्षेत्रमा अतिक्रमण गर्न थालेपछि तालको क्षेत्रफलमा कमी आउन थालेको हो ।
ताल वरीपरीको जग्गा अतिक्रमण गरी स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ताल पुरिने क्रम बढेको स्थानीयवासी भागिराम चौधरीले बताए ।
ताल वारीपारीको क्षेत्रमा बस्ती बस्न सुरु भएपछि तालको जैविक विविधता समेत खतरामा परेको उनले बताए।
तालमा देखापर्ने गरेका जल पक्षीसमेत बस्तीकै कारण नदेखिने गरेका छन्, उनले भने, तालको संरक्षणका लागि स्थानीय निकायले चासो नदिँदा तालको अस्तित्व खतरामा पर्दै जान थालेको छ।
तालको संरक्षण भएमा पर्यटन व्यवसायलाई बढाउन सकिने उनले बताए । ताल वरिपरीको क्षेत्रमा सुकुम्वासी र दलित समुदायको बस्ती रहेको छ । तालको पानी चुहिएर ताल पानी विहीन नबनोस भनेर डिल मर्मत गर्न र माछापालनका लागि आउटलेट निर्माण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले छ वर्ष अघि समूहमार्फत चार लाख बजेटको व्यवस्था गरेको थियो । जिल्ला विकास समिति कञ्चनपुरले हाल पाँच वर्षका लागि २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा दिएको छ । रासस