संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा हुन बाँकी सहिद सूची, जीवनपर्यन्त भरणपोषणका लागि गम्भीर घाइतेको नामावली तथा विभिन्न अस्पतालमा उपचारको खर्च विवरणसमेत बुझाएको छ।
मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो। मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले सहिद घोषणा हुन बाँकी १६ र ३२ जना गम्भीर प्रकृतिका घाइतेको सूची गृहमन्त्रीलाई बुझाइएको जानकारी दिए।
मोर्चाको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री निधिले मोर्चाको मागका सम्बन्धमा आवश्यक प्रक्रिया पुर्याई जतिसक्दो चाँडो मन्त्रिपरिषद्ले सम्बोधन गर्ने बताएको महासचिव सुमनले उल्लेख गरे। रासस