कांग्रेसका शीर्ष नेताहरुद्वारा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

नेपाली कांग्रेसका शीर्ष नेताहरुले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको बुधबार राजधानीमा पदस्थापन कार्यक्रममा उनीहरुले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र संघीय संसदको निर्वाचन १७ महिनाभित्र सम्पन्न गर्नैपर्ने भन्दै गाउँ पुगेर निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् ।
सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेले बजेटमार्फत् भ्रम छरेको भन्दै गाउँ-गाउँ पुगेर त्यसलाई चिर्न र चुनावी अभियान चलाउन आग्रह गरे ।
त्यसैगरी, उपप्रधानमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले सरकार तीनओटै निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको भन्दै सबैभन्दा पहिले स्थानीय निर्वाचन हुने दाबी गरे ।
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्याक्ष सीतादेवी यादवलगायतले पार्टी एकढिक्का भएर निर्वाचनमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
गत भदौ ३१ गते सम्पन्न महिला संघको महाधिवेशनबाट उमा रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । इमेजखबरमा समाचार छ ।