बक्राहा खोलाबाट विस्थापित बनेकाद्वारा अहिलेसम्म राहत नपाएको गुनासो

मोरङको इटहरा-३ मा बक्राहा खोलाको बाँध फुटाएर गाउँ पसेपछि विस्थापित बनेकाले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन्।
गत असोज ५ गते बाँध फुटाएर बक्राहा खोला गाउँ पसेपछि इटहरा-३ को जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका थिए। उनीहरु हाल खोलाको बाँध र आफन्तको शरणमा पुगेका छन्। विस्थापित भएको पाँच दिन भइसक्दा पनि हालसम्म कसैले पनि राहत दिन आएका छैनन्, इटहरा-३ का मेन्टु हेमरन भने- झरी पर्दा ओत लाग्ने पालसम्म पाए राहत महसुस हुने थियो।
आइतबार पनि सोही ठाउँबाट खोला पुनःबस्तीमा पसेपछि उनीहरु अझै पनि ढुक्क भएर घर फर्कने अवस्था छैन। अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर घर फर्कन नसकेको इटहरा-३ की चन्द्रकला रिजालले बताईन्। उनले भनिन्- वर्षा भइरहेको छ, खोला फेरि कतिखेर गाउँ पस्ने हो डरले घर फर्कन सक्ने अवस्था छैन।” बाढीले इटहरा-३ मा पाँच घर समेत बगाएको छ।
श्यामलाल बेश्रा, दानबहादुर धिमाल, वीरबहादुर राई, मेन्टु हेमरन र किशन हस्दाको घर बाढीले बगाएको हो। खोलाले फुटाएको बाँधको तटबन्ध गर्ने कामको सुरुवात समेत नभएकाले यस वर्षको दसैँ खोलाको बाँधमा बित्न लागेको भन्दै इटहरा-३ का सगमलाल राजवंशीले चिन्ता व्यक्त गरे। बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नम्बर ३, ४ र ५ डुबानमा पर्ने गरेको छ।
यसअघि गत बुधबार खोला गाउँमा पस्दा ती वडाका ३०० बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो। पूर्वमा अहिले पनि वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन्। वर्षा भइरहेका कारण खोलामा तटबन्ध गर्न नसकिएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले बताए। रासस