स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै बेसीसहरमा आन्दोलन सुरु

बेसीसहर – स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ। पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।
राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेसीसहरमा प्रदर्शनसमेत गरेका छन्। नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरुले सदरमुकाममा विरोध र्‍याली निकालेका थिए।
नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरुको आरोप छ। जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए। राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो।
आन्दोलित स्थानीयवासीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन्।
यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन्। उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन्।
प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै सङ्गठित भई उनीहरुले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन्। आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन्।
त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छैनन्। भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन्। माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन्।
त्यसैगरी साबिकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन्। चितीको अधिकांश भाग बेसीसहर नगरपालिकामा गाभिएको छ भने दुई गाउँलाई नौथरमा गाभिएको छ। उनीहरुले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन्। उनीहरुले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन्। रासस