सांसदहरुबीच कैलाली टीकापुर घटनालाई लिएर संसदीय समितिमा चर्काचर्की परेको छ ।
बुधबारको राज्य व्यवस्था समिति बैठकमा सत्तापक्ष नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको हो । समिति बैठकमा एमाले सांसदहरु टीकापुर घटनाका दोषी उम्कन नहुने पक्षमा उभिए भने मधेस केन्द्रित दलका सांसदहरुले राजनीतिक समस्या भएकाले सोहीबमोजिम समाधान गर्नुपर्ने बताएका थिए ।
एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटनालाई राजनीतिक आडमा माफी दिन नहुने बताए । उनले भने, प्रहरीलाई जलाउने र बालक मार्नेको मुद्दा फिर्ता लिन हुँदैन ।
तर, सत्तापक्ष नेपाली कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, कम्युनिष्टहरु एमाले, माओवादीको सशस्त्र संघर्ष होस् या २००७ सालको जनक्रान्ति किन नहोस् सबै घटना राजनीतिक नै हो, राजनीतिक रुपमै हल गर्नुपर्छ ।
झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले मन्सुरले प्रश्न गर्दै भने, माओवादीको दस वर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सांसद रामजनम चौधरीले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले भने, टीकापुर घटनाका मुद्दा फिर्ताको सम्बन्धमा ओली नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाउने भने तर सरकारबाट बाहिरिनेबित्तिकै कुरा फेर्ने, यो दोहोरो चरित्र भएन र !
कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गरे ।
पहाडमा कुरा उठ्नेबित्तिकै पूरा हुने तर तराई/कैलालीका जनताको माग सम्बोधन गर्न राज्यलाई किन यत्रो अप्ठ्यारो उनले आक्रोश पोखे ।
टीकापुर घटनाका बेला थारुहरुको घर गृहप्रशासनको आडमा जलाएको आरोप लगाउादै सांसद चौधरीले भने, गृहमन्त्री वा प्रहरीमाथि कसलाई कारबाही गर्ने ?
समिति बैठकमा उपस्थित गृहमन्त्री विमलेन्द्र निधिले भने सरकार र आन्दोलनरत पक्षबीच छलफल र घटनाका विषयमा अनुसन्धान भइरहेकोले उपयुक्त निष्कर्ष निकालिले बताए । पीडितलाई न्याय दिन र पीडकलाई दण्ड दिन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री निधिले भने, टीकापुर घटनाका दोषी उम्कँदैन, निर्दोष फस्नु हुँदैन
गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र १ बालकको ज्यान गएको थियो । कान्तिपुरमा समाचार छ ।