सदरमुकाम मार्तडीमा घटस्थापनाअघिदेखि नै शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेका छन् । सामाजिक सञ्जाल दसैंका सन्देशले भरिएका छन् । तर, सबैभन्दा गरिब जिल्लाका विकट बस्तीका विपन्न समुदाय भने चिन्तामा छन् ।
कमेरोले घर चिटिक्क पारे पनि जिल्लाको साप्पाटास्थित बाउनी गाउँमा उतिसाह्रो रौनक छैन । बाँकी खर्च कसरी धान्ने चिन्ता छ सबैलाई । कसैलाई सन्तानलाई एक जोर लुगासम्म हालिदिन नसकेको पिरलो छ ।
दले विकका छोराछोरीले दुई वर्षयता नयाँ कपडा पाएका छैनन् । दसैंमा जसरी पनि चाहियो भन्दै जेठो छोरा वीरबहादुर र्याखर्याख्ती पारिरहेका छन् । फाटेको टाउजर ठाउँठाउँ टालेर काम चलाइरहेका उनलाई नयाँ लुगा रहर मात्र नभएर बाध्यता पनि हो ।
घरमा पाँचवर्ष मूनिका तीन केटाकेटी छन् । सरकारले उक्त उमेरसमूहका दलित बालबालिकालाई स्याहार भत्ता उपलब्ध गराउँछ । दलेले त्यसबापत ४ हजार ८ सय रुपैयाँ बुझिसके । तर, त्यो रकमले पूरै दसैं काट्नुपर्ने बाध्यता छ । बुधबार कोल्टीबाट एक कट्ठा चामल किनेर ल्याए । चामल किनेर जोगिएको एक हजार रुपैयाँले मासु किन्ने सोचाइ छ, उनले भने, केटाकेटीले यस वर्ष पनि लुगा फेर्न नपाउने भए ।
बाउनीका सबैजसो परिवारको यस्तै अवस्था छ । गाउँका सबै ३८ परिवार मिलेर दशैमा राँगो किन्ने गर्छन् । पोहोर साल राँगो जुटाउन सकेनौं, यसपालि प्रयास गर्दै छौं, वीरसिंह बिकले भने ।
दसैंमा छेलोखेलो हुन्छ । अति विपन्न गोरे चादाराको परिवारलाई भात खान दसैं कुर्नुको विकल्प हुँदैन । अम्लिसामा धानखेती अति कम हुन्छ । कोदो, जौलगायतले गुजारा चलाउँछन् गाउँले । नजिक चामलको डिपोसमेत छैन । दसैमा हुने र नहुने सबैले एक छाक भात जुटाउँछन्, हरिबहादुर रोकायाले भने, सबै मिलेर गाउँमा एउटा राँगो र बोका ढाल्छौं । १ सय १० परिवारको बसोवास रहेको उक्त गाउँमा दसैं कसरी धान्ने भनेर हरेक वर्ष गाउँसमाजमा छलफल हुन्छ । त्यही आधारमा सामूहिक रुपमा एउटा राँगो र एक बोका बली दिइन्छ ।
साप्पाटा, रुडीका स्थानीय पनि सकेसम्म मिलेर राँगो ढाल्छन् । नसके काँक्रो, फर्सी, कुभिन्डो, खुर्सानीलगायत काटेर १० वटा बलि दिइन्छ । बाजुरा क्याम्पसका अर्थशास्त्र अध्यापक भन्छन्, एक छाक पुग्नेलाई दसैंमा उमङ्ग हुने भए पनि नसक्ने परिवारलाई समस्या थोपरिन्छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालयको पछिल्लो सर्वेक्षणअनुसार बाजुरामा सबैभन्दा बढी गरिब परिवार छन् । यहाँको ६४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि पर्छ । अधिकांश घरमा बाह्र महिना खान पुग्ने अन्न हुँदैन । दसैं बाजुराबासीको मुख्य चाड हो, जतिसुकै गरिब परिवार भए पनि आफ्नो हैसियतअनुसार मनाउँछन्, दसौंम हुनेले नहुनेलाई बाँडचुँड गर्ने भएकाले आपसी सम्बन्ध गाढा बन्छ बाजुराको संस्कृति क्षेत्रका अध्येता जहरसिंह थापाले भने ।
विपन्न परिवारको एक मात्र आयस्रोत माध्यम भारतमा चौकीदारी र मजदुरी गर्नु हो । पुरुषजति भारतका विभिन्न सहर पुगेका हुन्छन् । दिल्लीमा चौकीदारी गर्दै आएका कुल्देवमाडौंका भीम सार्कीले यसपालि पनि छुट्टी पाएनन् । सहकर्मी छिमेकीको हातमा खर्च पठाइदिए । पाँच हजार पठाइदिनुभएको छ, केटाकेटीलाई कपडा र एक किलो मासु ल्याएर दसैं मनाउँछौं, पत्नी कल्धरीले भनिन् । कान्तिपुरले लेखेको छ ।