राजधानीको बालाजु, वनस्थलीस्थित सिद्धार्थ वनस्थली उच्च माविका सञ्चालक रुपक राजवंशीलाई एक दिन विद्यालयका सुरक्षा गार्डले एउटा पत्र थमाए। पत्र कुनै अज्ञात व्यक्तिले उनैलाई दिन भनेर गार्डलाई थमाएको रहेछ। पत्र खोलेर हेर्दा केही समय राजवंशीको हंसले ठावैँ छाड्यो। नागरिकमा समाचार छ ।
पत्रको सिरानमा दुवैतर्फ अत्याधुनिक एके ४७ राइफलका चित्र। केही तल ‘अलकायदा विश्व संगठन दक्षिण एसिया, नेपाल’ लेखिएको छ। पत्र झट्ट हेर्दा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाकै जस्तो देखिन्छ तर पत्रमा कहीँकतै अरबी र उर्दू भाषा प्रयोग गरिएको छैन। पत्रमा संगठनको निर्णयअनुसार भन्दै राजवंशीसँग १३ लाख रुपैयाँ माग गरिएको थियो। पत्रबाट तर्सिएका उनले प्रहरीलाई खबर गर्नु र आफूनिकटसँग सरसल्लाह गर्नुको बदला पत्रमा उल्लेख भएको नम्बरका व्यक्तिलाई मागिएकै रकम खुरुक्क बुझाए।
यत्तिमै राजवंशीको तनाब भने सकिएन। उनलाई हप्तादस दिन बिराएर विभिन्न सशस्त्र समूहका नाममा पत्र र फोन आउन थाल्यो। पटकपटक गरी उनले ३५ लाख रुपैयाँ बुझाए। धम्कीपूर्ण पत्र र फोनले हैरान राजवंशीले अन्त्यमा एक जना आफूनिकटलाई घटना विवरण सुनाए। ती आफन्तको सल्लाहमा महानगरीय अपराध अनुसन्धान महाशाखामा जाहेरी पनि दिए।
‘पत्र र फोनबाट धम्काउने, पीडितले पटकपटक गरेर लाखौं रुपैयाँ धम्काउने व्यक्तिलाई र रकम ट्रान्सफर गरेर पठाएको देखिएको छ,’ महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने। उनका अनुसार प्रहरीले अनुसन्धानपछि असोज १८ गते पक्राउ गरेका अर्घाखाँची सिद्धारा-३का वैकुण्ठ बेल्बासेको अपराध शैली हालसम्मका ठगीका घटनाभन्दा फरक छ। उनले थपे, ‘आफूलाई सञ्चारकर्मी र सञ्चार उद्यमीका रुपमा परिचय दिँदै हिँड्ने बेल्वासे घटनाका एक्ला आरोपी हुन्, पत्र तयार गर्नेदेखि रकम बु