विभिन्न राजनीतिक दलका नेताहरुले आगामी ३० दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको टुंगो लाग्ने बताएका छन् ।
शनिबार राजधानीमा गरिएको साक्षात्कारमा नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले ३० दिनभित्र महाअभियोगको प्रस्ताव संसदको दुईतिहाइ बहुमतले पारित हुने दाबी गरे ।
उनले कार्कीलाई कुनैपनि हालतमा अख्तियारको प्रमुखमा राख्न दलहरु सहमत नहुने बताए । सांसद फुयाँलले कुनैपनि दल जनताको इच्छाविपरीत जान नसक्ने जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले महाअभियोगको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भइ अख्तियार प्रमुख कार्कीमाथि कारबाही हुने दाबी गरे ।
सांसद मोदीले अख्तियार प्रमुख कार्कीले संविधान उल्लंघन गरेर काम गरेकाले बाध्य भएर महाअभियोगको प्रस्ताव ल्याउनुपरेको जिकिर पनि गरे । इमेजखबरमा समाचार छ ।