निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको कात्तिक अन्तिममा परीक्षण उत्पादन

कास्कीको सिल्दुजुरे गाविस-९ बाहुनडाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ ।
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए ।
विद्युत्गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव-स्टेसनमा जोडिएका उपकरणकोसमेत परीक्षण गरिने उनले बताए ।
परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मंसिर अन्तिमदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ ।
आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ ।