एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले वर्तमान सरकार बाह्य शक्तिको निर्देशनमा चलिरहेको आरोप लगाएका छन् ।
उनले भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदाको प्रसंगलाई जोड्दै उक्त आरोप लगाएक हुन् । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार अब धेरै दिन नटिक्ने उनको दाबि थियो ।
हाम्रा राष्ट्रपति भारत भ्रमणमा जाँदा भारतले बिदा दिन्छ कि दिँदैन हेर्न बाँकी छ ? एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको दसैं, तिहार, मोहरम र छठको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, वर्तमान सरकार दक्षिणबाट सञ्चालित भइसकेको पुष्टि यी घटनाले गरिसके । उनले वर्तमान सरकारको कार्यले नेपालीको आत्मसम्मानमा चोट पुर्याएको बताए ।
उनले वर्तमान सरकारले संविधान संशोधनका लागि मधेसी दलहरुसँग ३ बुँदे सहमति गरेपनि एमाले बिना दुई तिहाई बहुमत नपुग्ने बताए । कांग्रेस र माओवादीले मात्रै संविधान संशोधन हुनसक्दैन । हाम्रो पार्टीको पनि आवश्यक पर्छ, नेता गौतमले भने, संविधान कार्यानवयन हुन नसके जनताले प्राप्त गरेको उपलब्धि गुम्ने खतरा छ । कान्तिपुरमा समाचार छ ।