भूकम्पपीडितलाई ट्याक्सी बाँड्ने प्रक्रिया अघि, मंसिर अन्तिमसम्ममा वितरण गरिने

 यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी बाँड्ने प्रक्रिया अघि बढाएको छ । पीडितले दिएको आवेदनलाई छानबिन गरी मंसिर अन्तिमसम्ममा ट्याक्सी वितरण गर्ने विभागले तयारी गरेको छ । कान्तिपुरमा समाचार छ । 
१५ सय ट्याक्सीका लागि एक लाख ५० हजार आवेदन दर्ता भएको विभागले जनाएको छ । आवेदन दर्ता तीव्र रूपमा भइरहेको छ, विभागका निर्देशक निरन्जन रिजालले भने, एक महिनाभित्र सम्पूर्ण काम सकी गोलाप्रथाद्वारा छनोट गरेर ट्याक्सी वितरण गर्छौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि भदौ पहिलो हप्तासम्म आवेदन माग गरेको थियो । आवेदन दिएका भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी ट्याक्सी खरिद गर्न दिइनेछ । ट्याक्सी वितरणमा निकै ढिलाइ भएको जनाउँदै भूकम्पपीडितले प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आएका छन् । 
सिन्धुपाल्चोकका कर्म लामाले सरकारले आवेदन माग गरेर पीडितलाई लोभ्याउने काम मात्र गरेको आरोप लगाए । साउन/भदौको झरीमा भिज्दै बिहान ३ बजेदेखि लाइनमा बसेर आवेदन दर्ता गरियो, उनले भने, तर सरकारले वास्ता नै गरेन । गोलाप्रथाबाट छनोट गरेर चाँडो गरे भइहाल्यो नि ।
 
भूकम्प प्रभावित जिल्लाबाट माइक्रो बस रिजर्भ गरेरसमेत आवेदन दर्ता गर्न पीडितहरू उपत्यका आएका थिए । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । 
तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए ।
दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ । ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको उपनिर्देशक रिजालले बताए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिका पालामा ३ हजार ३ सय ५० वटा नयाँ ट्याक्सी थप्ने निर्णय भएको थियो । त्यसमध्ये सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र ट्याक्सी चालकलाई ५ सय नयाँ ट्याक्सी दिने निर्णय भएको थियो । 
सर्वसाधारण, यातायात व्यवसायी र ट्याक्सी चालकले गोलाप्रथाबाट ट्याक्सी प्राप्त गरिसकेका छन् । नयाँ ट्याक्सी थप्दा भाडा दर र ट्याक्सीको मूल्य घट्ने भन्दै भूकम्पपीडितका नाममा थप ट्याक्सी नभित्र्याउन ट्याक्सी व्यवसायीले दबाब दिँदै आएका थिए । विभागका अनुसार उपत्यकामा हाल ७ हजार ट्याक्सी छन् । तीमध्ये ५ हजार ६ सय ५० पुराना र १ हजार ८ सय ५० नयाँ छन् । दिउँसो प्रतिकिमि ३५ रुपैयाँ र राति प्रतिकिमि ५४ रुपैयाँ ट्याक्सी भाडा व्यवसायीले असुल्ने गर्छन् । उपत्यकामा १ लिटर पेट्रोलले २२ किमि ट्याक्सी गुड्छ । पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ पर्छ । कान्तिपुरमा समाचार छ ।