बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुहरुले कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालय कब्जा गरेका छन् ।
सोमबार दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर कब्जा गरेका हुन् ।
गत शनिबार र आइतबार राजधानीमा भएको बहिर्गमित लडाकुहरुको भेलाले सातबुँदे माग राख्दै सोमबादेखि पार्टी मुख्यालय कब्जा गर्ने निर्णय गरेको थियो ।
पार्टी पटक-पटक सरकार पुग्दासमेत आफूहरुको माग पूरा नभएको भन्दै उनीहरुले अब पनि बेवास्ता गरे भौतिक कारबाहीमा उत्रने चेतावनी पनि दिएका छन् ।
सयौंको संख्यामा रहेका बहिर्गमित पूर्वलडाकुहरु बालबच्चासहित नै बसेका छन् ।
मूलगेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्न पनि दिएका छैनन् ।
आफूहरुको रगत पसिनामा टेकेर नेतृत्वले महल ठड्याएको भन्दै पूर्वलडाकुहरुले कलिलो उमेरमा युद्धमा होमेर आफूहरुको भविष्य अन्धकार बनाएको बताएका छन् ।
निःशर्तरुपमा अयोग्य शब्द हटाउनुपर्ने, पूर्वलडाकुहरुले पाएसरहको दीर्घकालीन व्यवस्था गर्नुपर्ने, आफूहरुको बालअधिकार हनन् भएकाले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्नेलगायतका सातओटा माग उनीहरुले अघिसारेका छन् ।
माओवादी लडाकुको व्यवस्थापनको जिम्मा लिएको राष्ट्रसंघीय निकाय अन्मिन ले ४ हजार ९ जनालाई लडाकुको दर्जा दिन नमिल्ने भन्दै शिविरबाट बाहिर निकालेको थियो । जसमध्ये अधिकांश उमेर नपुगेका किशोर किशोरीहरु थिए । इमेजखबरमा समाचार छ ।