अब मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस उपचार पूर्णरूपमा नि:शुल्क

स्वास्थ्य मन्त्रालयले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस उपचार पूर्णरूपमा नि:शुल्क गरेको छ । यसअघि सातामा दुईपटक डायलाइसिस गर्नमात्र नि:शुल्क भएकाले बढीपटक डाइलासिस गर्नुपर्ने बिरामीलाई उपचार खर्च जुटाउन समस्या पर्दै आएको थियो । 
स्वास्थ्यमन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले सोमबार डायलाइसिस सेवा पूर्ण रूपमा नि:शुल्क गर्न सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ । 
 मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि मृगौला रोगीले जतिपटक डायलाईसिस गर्नु परे पनि अब नि:शुल्क सेवा पाउनेछन्, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो । बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म सातामा तीनपटक सम्म डायलाईसिस गर्नुपर्छ । एकपटक डायलाइसिस गर्दा २५ सय रुपैयाँ लाग्ने गर्छ । 
सातामा तीनपटक गर्दा कम्तीमा ७५ सय रुपैयाँ लाग्ने गर्छ । अब मृगौली रोगीले यो खर्च बेहोर्नुपर्ने छैन । मुलुकमा मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टरसहित ३२ अस्पतालमा नि:शुल्क डायलाईसिसको सेवा उपलब्ध छ । कान्तिपुरमा समाचार छ ।