सुर्य भुसाल
बुटवल । ने.क.पा.(मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले राष्ट्रियतामा आँच आउने गरी संविधान संशोधन गरिए त्यसको कडा प्रतिबाद गर्नुपर्ने भन्दै सबै नेपालीलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।
अखिल (छैठौं) केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक बुटवलमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै महामन्त्री सिंहले संविधानमा अंगिकृत नागरिकता लिएकाहरुलाई राष्ट्र प्रमुख बनाउने जस्ता राष्ट्रघाती संशोधनको चलखेल सुरु भएकोले शसक्त प्रतिबादको तयारीमा रहन आग्रह गर्नुभएको हो ।
महामन्त्री सिंहले विभिन्न बहानामा संविधान कार्यान्वयनमा ढिलाइ भएको बताउदै यो गतिलाई नसच्याइए संविधान नै खतरामा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रशिक्षणमा अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रमको प्रसङ्ग जोड्दै महामन्त्री सिंहले विश्वमै कम्युनिस्ट आन्दोलन समाप्त भएको भन्नेहरुलाई चुनौती दिदै सङ्गठन निर्माणमा जुट्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
अखिल (छैठौं)केन्द्रिय समितिको हिजोबाट बुटवलमा सुरु भएको दोस्रो पुर्ण बैठक सुस्तादेखी मानेभञ्ज्याङ सम्म सिमा बचाऔं अभियान सन्चालन गर्ने,लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान सन्चालन गर्ने,मंसिर ४ गते एकै साथ क्षेत्रीय भेला सम्पन्न गर्ने,अक्टोबर क्रान्तिको शतबार्षिकिमा देशका ७५ वटै जिल्लामा जिल्ला भेला तथा सम्मेलन गर्दै सङ्गठन बिस्तारलाई व्यापक बनाउने निर्णय गर्दै सम्पन्न भएको छ ।
अखिल (छैठौं)का अध्यक्ष बिमल पोख्रेलको अध्यक्षता र महासचिव भिमलाल पोख्रेलको संचालनमा सम्पन्न भएको बैठकमा राष्ट्रिय जनमोर्चा का कार्यकारिणी अध्यक्ष रश्मिराज नेपाली र अखिल (छैठौं)का पुर्व केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले कार्यक्रम मन्तव्य राख्दै सफलताको शुभकामना दिनुभएको अखिल छैटौंका अर्घाखाँचीका अध्यक्ष गोपाल भट्टराईले जानकारी दिनु भयो ।