नेपाल तरुण दलको चौथो महाधिवेशन आजदेखि पोखरामा सुरू भएको छ ।
बिपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ।
मानवअधिकार चोकमा उद्घाटन सत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित र्याली निकालेका थिए । बन्द सत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन्। मूल आयोजक समितिले आवास, भोजन, मञ्च व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ भने पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माणसँगै झन्डा राखेको छ।
पोखरा प्रवेश गर्ने विजयपुर, छोरेपाटन, सिम्पानी नाकामा गरी दस वटा स्वागतद्वार निर्माण गरिएका थिए । यतिखेर महाधिवेशनस्थल पोखरा सभागृह, उद्घाटन हुने चिप्लेढुंगास्थित मानवअधिकार चोक सिंगारिएका थिए । तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ। हाल कार्यसमिति ६१ जनाको छ।
महाधिवेशन सम्पन्न गर्न ५० लाख रुपैया खर्च लाग्ने अनुमान आयोजकको छ।
उद्घाटन सत्रमा भाग लिन तरुण दलका पूर्वअध्यक्ष एवं रक्षामन्त्री बालकृष्ण खाँण, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, गगन थापालगायत शुक्रबार नै पोखरा आएका थिए । भने कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला आज आएका थिए । सेतोपाटीमा समाचार छ ।