पश्चिम तराइका कैलाली र कञ्चनपुरमा एक सातादेखि पेट्रोलियम पदार्थको अभाव भएको छ । कान्तिपुरमा समाचार छ ।
खेतीपातीका बेला इन्धन अभाव हुँदा गहुँ छर्ने र धान थ्रेसिंगको काम समेत प्रभावित हुन पुगेको छ । तिहार र छठ पर्वकोअवधीमा परेको बिदा र इन्धन ढुवानी गर्ने केही ट्यांकरको रुट परमिट सकिएका कराण अभाव भएको आयल निगमले जनाएको छ ।
यतिबेला धनगढी र महेन्द्रनगर तथा आसपासका क्षेत्रमा पेट्रोल र डिजेलको चर्काे अभाव भएको छ । वनथरा डिपोमा समेत तिहारको बिदामा तेल आएन, आयल निगमका क्षेत्रिय प्रबन्धक नरेश कुमार डंगोलले भने, त्यस लगत्तै छठको पनि बिदा परेका कारण नियमित आयात हुन सकेन । उनका अनुसार अहिले पनि भारतबाट नियमित रुपमा डिजेल तथा पेट्रोल आयात हुन सकिरहेको छैन ।
पेट्रोलको अभाव तिहार सुरु भएदेखि नै भएको हो । दुई/तिन दिन यता डिजेलको पनि अभाव चर्किएको छ । अहिले पेट्रोल पम्पहरुमा इन्धनका लागि मोटरसाइकल र ठुला सवारी साधनको लाइन लाग्ने गरेको छ । गहुँ छर्ने बेला डिजेल अभाव हुँदा कृषकहरु समेत मारमा परेका छन् । जोताई तथा सिंचाईका बेला डिजेल नपाउँदा खेतीपातीको काम प्रभावित भएको कृषकहरुले गुनासो गरेका छन् ।
यतिबेला खेतीपातीको काम सँगै चाडपर्व सकिएपछि गन्तव्यमा फर्किनेको भीडले सवारी साधनको चाप पनि बढ्ने भएकाले इन्धनको माग बढी हुन्छ, क्षेत्रिय प्रबन्धक डंगोलले भने, यहि बेला लामो बिदाका कारण नियमित आपूर्ति गर्न सकिएन । उनले अन्य समयको भन्दा दसैं तिहारको अवधीमा इन्धनको अपत बढ्ने गरेको बताए ।
तिहारपछि मागे अनुसार डिजेल तर पेट्रोल आएको छैन, महेन्द्रनगर स्थित महाकाली सेतीआयल स्टोरको कर्मचारी कान्ताराम चौधरीले भने, आयल निगमबाट तिहार र छठसम्मको लामो बिदाका कारण नै इन्धन नआएको भन्छन् ।