भूकम्पबाट प्रभावितमध्ये मकवानपुरका आधाभन्दा बढीले ५० हजार रुपैयाँ र अनुदान रकम बुझे

 गत वर्षको भूकम्पबाट प्रभावितमध्ये मकवानपुरका आधाभन्दा बढीले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ र अनुदान रकम बुझेका छन् ।
लाभग्राही सूचीमा नाम निस्केका ३० हजार दुई सय ३८ मध्ये १७ हजार एक जनाले सरकारले आवास पुनःनिर्माणको लागि सम्झौता गरेर दिएको पहिलो किस्ताको रकम बुझेका हुन् ।
मकवानपुरमा आफ्नो नाममा जग्गा भएका र लाभग्राही सूचीमा पर्नुपर्ने भन्दै गुनासो फाराम भर्नेको सङ्ख्या २५ हजार पाँच सय १७ छ । सानातिना त्रुटि गाविसस्तरमै मिलाइएको र जटिल समस्या राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइएको गुनासो व्यवस्थापन समिति मकवानपुरले जनाएको छ ।
कतिपय गाविसमा ऐलानी जग्गा भोगचलन गर्दै आएकाहरुको समस्या जटिल रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । एकाइका प्रमुख डिभिजन इन्जिनियर सोमनाथ तिमल्सिनाले आधाभन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र बाँकी सम्झौता छिट्टै ग्रिने जानकारी दिए ।
सम्झौता गर्न आउनेको सङ्ख्या पातलिएका कारण सम्झौता नसकिएको बताउँदै भीमफेदी गाविसका सचिव बद्री सापकोटाले गाविसमा ऐलानी जग्गा भोगचलन गर्दै आउनेहरुको गुनासो सुनुवाइ भएपछि पुनःसम्झौताको क्रम तीव्र हुने विश्वास व्यक्त गरे । रासस