प्रदेश नम्बर-५ का पहाडी जिल्लालाई छुट्याउने तयारी गरेको भन्दै बुटवल र भैरहवामा प्रदर्शन

प्रदेश नम्बर-५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीका बुटवल र भैरहवामा विरोधर्‍याली निकालिएको छ ।
मंगलबार साँझ बुटवलको ट्राफिकचोकबाट निस्किएको विरोधर्‍याली पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्‍यालीमा सहभागीहरुले प्रदेश नम्बर-५ को सीमा परिवर्तन नगर्न आग्रह गरेका थिए ।
यस्तै, भैरहवाको लुम्बिनीरोडबाट निस्केको र्‍याली बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
रोल्पामा पनि प्रदर्शन
रोल्पामा पनि प्रदेश नम्बर-५ लाई नटुक्र्याउन आग्रह गर्दै मंगलबार प्रदर्शन भएको छ ।
रोल्पाको सर्वदलीय, सर्वपक्षीय सरोकारवाला निकायले विरोधर्‍याली निकालेको हो ।
रोल्पालगायतका पहाडी जिल्ला साविककै ५ नम्बर प्रदेशमा हुनुपर्ने उनीहरुको माग छ । इमेजखबरमा समाचार छ ।