सुर्य भुसाल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताउनुभएको छ । उहाँले संविधान संसोधन र स्थानिय तहको निर्वाचन गराउनका लागि द्धन्द नभई विपक्षी दल नेकपा एमालेलाई पनि सगै लिएर जानुपर्ने बताउनुभयो ।
जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानिय जनताको भावना बुझेर सिमाङकनको बिषय टुंगो लगाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो- प्रदेशको सिमाङकन हेरफेर गर्दा पनि र स्थानिय तहको सिमाना तय गर्दा पनि स्थानियको भावनाको कदर गर्नुपर्छ अन्यथा समस्या आउछ ।
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सवैले संविधान संसोधनमा सहयोग गनुपर्ने धारणा राख्नुभयो । संविधान जारी गर्ने बेलामा कांग्रेस एमाले र माओवादीका नेताहरुले संसदको रोष्टममा उभिएर संविधान संसोधनको प्रतिबद्धता जनाएको भन्दै संसोधनका लागि तीनै पार्टी एक ठाँउमा आउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले लोकतन्त्र भनेको सवै नागरिक सम्मानित ढंगले बाँच्न पाउने व्यवस्था भएकाले समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेको बताउदै भन्नुभयो- मधेशी जनतामा उग्र भावना छैन, तर लोकतन्त्रमा सवै सम्मानित हुनुपर्छ । त्यसकारण हामीले समावेशीताको सुनिश्चित गर्न आवश्यक छ ।
वरिष्ठ नेता पौडेलले साँघुरो विचार र कमजोर मानसिकताले नेपालमा केहि गर्न नसकिने भन्दै नेपाल विविधता बीचको एकताको देश भएकाले मधेशी जनतामा आफुहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मधेशी विगतको शासन व्यवस्थामा हेपिएको बताउदै लोकतन्त्रको स्थापना पछि क्रमश हट्न थालेको स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियताका बारेमा धेरै पहिले देखि नै थरिथरि कुरा हुने गरेको भन्दै अति राजनीति र अतिवादी राष्ट्रियताले मुलुकको उन्नती संभव नुहने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता किरण गुरुङ, नेपाली कांग्रेसका नेता एंव सांसद राजन केसी, एमाले नेता राजन राईको पनि सहभागिता रहेको थियो ।