अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच झडप

बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच बिहीबार दिउँसो झडप भएको छ। सेतोपाटीमा समाचार छ । 
पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडपको भएको हो। अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा दिउँसो प्रदर्शनकारीले पुष्पलाल पार्कमा रहेको स्तम्भ भत्काउन खोजेपछि प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका थिए। केहीबेरमा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेपछि झडप भएको हो। दुबै पक्षले एकअर्कामाथि ढुंगा प्रहार गरेका थिए।
प्रदर्शनकारीले स्तम्भको रेलिङ भाँचिदिएका छन्। प्रहरीले अहिले स्तम्भलाई घेरेर राखेको छ। कुनै संस्था वा दलले नेतृत्व नगरेको सो प्रदर्शनकारीको समूहले स्तम्भ भत्काउने प्रयास गरेको थियो। पुष्पलाल पार्कमा पहिला राजा महेन्द्रको सालिक रहेको थियो। गणतन्त्र आएपछि माओवादीले त्यहाँ कम्युनिष्ट स्तम्भ स्थापना गरेका थिए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले  बुटवलमा सामान्य झडप भएको बताए। ‘भीड नियन्त्रण गर्न खोजेका हौं’, उनले भने, ‘हामीले बल प्रयोग गरेका छैनौं, कोही घाइते भएको पनि रिपोर्ट अाएको छैन।’
यसैबीच बिहीबार साँझ  पुष्पलाल पार्कमा रहेको शहिद स्तम्भलाई हटाएर प्रदर्शनकारीले राष्ट्रिय झण्डा गाडेका छन्। दिउँसैदेखि स्तम्भ हटाउने प्रयास गरेका प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै स्तम्भको ठाउँमा राष्ट्रिय झण्डा गाडेका हुन्।
हँसिया हथौडा अंकित उक्त स्तम्भ हटाउने खोज्ने प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीसँग केहीबेर ढुंगा हानाहान भएपछि प्रहरी पछाडि हटेको हो। उक्त स्तम्भ माओवादी नेता टोप बहादुर रायमाझीले २०७० सालमा उद्घाटन गरेका थिए। 
बुधबार बिहानैदेखि प्रदर्शन शुरु भएको बुटवलमा बिहीबार पनि बिहानैदेखि प्रदर्शन शुरु भएको थियो। आन्दोलनको क्रममा केही युवाहरुको समुहले पुष्पलाल पार्कमा माओवादी केन्द्रले निर्माण गरेको सहिद स्तम्भ भत्काउने प्रयास गरेपछि केहीबेर दुई पक्षबीच झडपको भएको थियो। दिउँसो २ बजेतिर केही युवाहरुले स्तम्भ पार्कको वरिपरिको पर्खाल भत्काएपछि प्रहरीले सुरक्षा घेराभित्र राखेको थियो। 
दुई घन्टा आमनेसामने भएका प्रदर्शनकारी र प्रहरीबीच दिउसो चारबजे ढुंगा हानाहान भएको हो। प्रहरीले प्रदर्शनकारीलाई पुष्पलाल पार्कबाट हटाउन खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए। झडपको क्रममा एकअर्काको ढुंगा प्रहार गरेपनि कोही घाईते भने नभएको प्रहरीले जनाएको छ। 
प्रदर्शनमा कुनै दल तथा संघसंगठनले नेतृत्व गरेको छैन। अधिकांश २५/३० वर्ष उमेरका युवाहरुको समूह स्वतःस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीले पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, देश टुक्राउने सरकार चाहिँदैन जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए। प्रहरीले अहिले स्तम्भलाई घेरेर राखेको छ। पहिले राजा महेन्द्रको शालिक रहेको उक्त स्थानमा गणतन्त्र स्थापनापछि माओवादीले कम्युनिष्ट स्तम्भ स्थापना गरेको थियो। 
माओवादीको नेतृत्वमा सरकार रहेको र माओवादीले नै पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव गरेको भन्दै प्रदर्शनकारीहरु माओवादीप्रति आक्रामक भएका हुन्। सेतोपाटीमा समाचार छ ।