संविधान संशोधन प्रस्ताव अनुसार ५ नम्बर प्रदेशका पहाड र तराईका जिल्ला नटुक्र्याउन माग राख्दै पाल्पामा सोमबार जनप्रदर्शन तथा विरोध कार्यक्रम गरिएको छ । कान्तिपुरमा साम्चार छ ।
संयुक्त संघर्ष समितिको आयोजनामा नेकपा माओवादी केन्द्रबाहेकका क्रियाशील राजनीतिक दलले सदरमुकाम तानसेनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक अगुवा, सामाजिक संघसंस्था, उद्योगी-व्यवसायी, व्यापारी लगायत स्वतस्फूर्त रुपमा जुलुसमा सहभागी भएका थिए । दलहरुले सामूहिक रुपमा देश र नागरिककालागि विरोधमा उत्रिएको भन्दै राष्ट्रिय झण्डा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले प्रदर्शनमा प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्रिय अखण्डता कायम गर, हिमाल पहाड तराई कोई छैन पराई लगायतका नारा लगाएका थिए ।
तानसेन टुँडिखेलबाट सुरु विरोध प्रदर्शनमा तानसेनको चोकचोकमा भेला भएका राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण स्वस्फूर्त रुपमा सहभागी भए । तानसेनको लहरेपिपल, सिल्खानटोल, मखनटोल, भगवतीटोल, टक्सार, असनटोल, नारायणस्थान, भिमसेन, टुँडिखेल लगायतका स्थानमा प्रर्दशन गर्दै बसपार्कमा विरोध सभामा परिणत भएको हो ।
सांसद सोमप्रसाद पाण्डेय र राधाकृष्ण कँडेलले प्रस्तावको विपक्षमा आफूहरु रहेको जनतालाई बताए । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जनताको भावना विपरित तराईलाई स्वतन्त्र प्रदेश बनाउन खोज्नु षडयन्त्रका रुपमा आएको प्रस्ताव भएकाले विफल पार्न सांसदहरुलाई आग्रह गरे ।
कांग्रेस सभापति बीरबहादुर राना, सचिव अजयमान कर्माचार्य, एमाले अध्यक्ष नारायण आचार्य, राप्रपाका रेवन्त विष्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, अखण्ड नेपालका अध्यक्ष दिनेश रावल, वरिष्ठ पत्रकार मेघराज शर्मा, नागरिक समाजका भेषराज सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल नागरिक समाजका सचिव पुष्कर रेग्मी, स्ववियु सभापति हरिबोल भट्टराई लगायतले ५ नम्बर प्रदेश टुक्र्याउने षडयन्त्रका विरोधमा जनताको आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए । कान्तिपुरमा साम्चार छ ।