रुपन्देहीमा पाँच नम्बर प्रदेश टुक्र्‍याउने प्रस्तावको विरुद्धको बन्द फिर्ता

 पाँच नम्बर प्रदेश टुक्र्‍याउने प्रस्तावको विरुद्धमा सात दिनयता भइरहेको आन्दोलनको स्वरुप परिवर्तन गर्ने रुपन्देहीको सर्वदलीय संयुक्त आन्दोलन समितिले निर्णय गरेको छ। सेतोपाटीमा समाचार छ । 
संसदमा दर्ता भएको संसोधन प्रस्ताव पेश नहुँदासम्मका लागि हडतालका कार्यक्रम फिर्ता लिइएको एमाले केन्द्रीय सदस्य लीला गिरीले जानकारी दिए।
बन्द र ह्डतालका कार्यक्रम नभए पनि सडकमा प्रदर्शन, सभा, जुलुस भने नियमित भइरहने उनले बताए। मंसिर २६ गतेसम्मका लागि प्रदेशमा भइरहेको आन्दोलनको स्वरुप परिवर्तन गरिएको भन्दै उनले बिरोध संसदमा केन्द्रित हुने बताए ।
यसअघि सर्वसाधारणले आन्दोलनकारीलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न र सरकारलाई पनि जनताको मागलाई सुनुवाई गर्न आग्रह गरेका छन्।
उता गुल्मी र पाल्पामा पनि अनिश्चितकालिन जिल्ला बन्दको कार्यक्रम जारी रहेका छन्। पाल्पामा बुधबारसम्म अनिश्चिकालीन बन्दको कार्यक्रम यथावत रहेको आन्दोलन परिचालन समितीले जनाएको छ।
अर्घाखाँचीमा भने आन्दोलनको स्वरुप परिवर्तन गरिएको संयुक्त आन्दोलन संघर्ष समितिले जनाएको छ। समितिका संयोजक विष्णु खनालले २१ गतेदेखि २३ गतेसम्म वालपेन्टिङ, सर्वसाधारणलाई प्रदेश विभाजनबारे जानकारी दिने तथा २४ र २५ गते जिल्ला प्रशासन कार्यालय घेराऊ तथा धर्ना दिने कार्यक्रम रहेको जानकारी दिएका छन्। सेतोपाटीमा समाचार छ ।