प्रकाश अधिकारी
(सुर्खेत) प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने अडान दोहोर्याएका छन् । सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न । बरु परिमार्जन गर्न सकिन्छ वीरेन्द्रनगरमा विहीबार कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर छ ।
यद्यपि, उनले संशोधन प्रस्ताव के कसरी परिमार्जन गर्ने भन्नेबारे केही खुलाएनन् । प्रधानमन्त्री दाहालले केही दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गरिने पनि बताए ।
हाल दर्ता गरिएको संशोधन प्रस्ताव तत्कालिन कांग्रेस सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीले नै तयार पारेको ड्राफ्ट भएको उनको भनाई थियो । संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै अनावश्यक शंका नगर्न उनले आग्रह गरे । मुलुकले निर्वाचन चाहेको छ । निर्वाचनविना अहिलेसम्मका उपलब्धी संस्थागत हुँदैनन् दाहालले भने, त्यसैले निर्वाचनको वातावरण बनाउन सबै पक्ष एकजुट होऔं । संविधान कार्यान्वयनको पवित्र कार्यमा सहयोग गर्न अपिल गर्दछु ।
आफूहरुले संविधान विधि प्रक्रिया मिलाएर घोषणा गरेपनि मधेसी, थारु, आदिवासी जनजातिका असन्तुष्टि कायमै रहेकाले संशोधन अपरिहार्य रहेको बताए । तराई मधेस, पहाड र हिमाललाई जोड्न संशोधन प्रस्ताव ल्याएको दाहालको प्रष्टोक्ति थियो । राजनीतिक स्थिरताविना आर्थिक विकास असम्भव भन्दै दाहालले विकासमा न्यूनतम दलीय समझदारीमा जोड दिए ।
मेला उद्घाटन समारोहमा माओवादी केन्द्र संसदीय दलकी सचेतक एवं सांसद सीता नेपाली, केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्ति बस्नेत, गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले शुभकामना मन्तव्य दिएका थिए । मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले प्रदेश नम्बर ६ का सबै जिल्ला उद्योण वाणिज्य संघको तर्फबाट प्रधानमन्त्रीलाई १४ बुँदे माग पत्र पेश गरे । सुर्खेत लगानी वर्षलाई साकार बनाउन संघले कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो । मेला पौष ३ गतेसम्म चल्नेछ ।
६ नम्बर प्रदेश सुनको सिरानी
प्रधानमन्त्री दाहालले प्रदेश नम्बर ६ मा विकासको प्रचुर सम्भावना रहेको बताए । यो सुनको सिरानी राखेर नुन खोज्ने प्रदेश हो उनले भने, अब सरकारले नून खोज्न नपर्ने गरी विकासमा ध्यान दिन्छ । उनले सुर्खेतमा मेडिकल कलेज, अन्तर्राष्ट्रिय विमानस्थल, जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापनाको प्रक्रिया आरम्भ भैसकेको जनाए । त्यस्तै, जलविद्युतको प्रचुर सम्भावना रहेको यस प्रदेशमा माथिल्लो कर्णाली र नलसिंगाड जलविद्युत आयोजना अघि बढिरहेको बताए । चौकुने सिमेन्ट उद्योगले भोग्दै आएको नीतिगत समस्या तत्कालै सल्टाउने उनको प्रतिवद्धता थियो । दैलेखमा अन्वेषण गरिएको पेट्रोलियम पदार्थको उत्खनन् कार्य पनि यसै वर्षभित्र सुरु गरिने आश्वासन दिए ।
कान्तिपुरबाट