प्रधानमन्त्री दाहालद्वारा सरकारले संशोधनमार्फत् संविधान सबैका लागि स्वीकार्य बनाउने प्रयास गरेको उल्लेख

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संशोधनमार्फत् संविधान सबैका लागि स्वीकार्य बनाउने प्रयास गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा उनले संविधान सर्वस्वीकार्य भएपछिमात्र मानवअधिकार संरक्षण हुने बताए ।
उनले सरकार संविधान कार्यन्वयन गर्दै तीन तहको निर्वाचन गराउने तयारीमा जुटेको दाबीसमेत गरे ।
निर्वाचन कानुनहरु व्यवस्थापिका-संसदमा पुगिसकेको भन्दै उनले निर्वाचनको सबै तयारी पूरा हुनेक्रममा रहेको उल्लेख गरे ।
मानवअधिकारको रक्षा पहँुचवालका लागिभन्दा पनि गरिब, निमुखा, सीमान्तकृत र पीडितका पक्षमा हुुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको विषयमा अन्तर्राष्ट्रिय जगतसँग गरेका प्रतिबद्धता र सम्झौता कार्यन्वयनमा सरकार लाग्नुपर्ने बताए ।
उनले संविधानमा दखिएका असन्तुष्टि सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै अवसरमा प्रधानमन्त्री दाहालले शनिबारै सिंहदरबारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । इमेजखबरमा समाचार छ ।