तेह्रथुमको जिरी-खिम्ती-म्याङलुङ सडकखन्डमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

तेह्रथुमको जिरी-खिम्ती-म्याङलुङ सडकखन्डअन्तर्गत् म्याङलुङ-१ गढीभीरमा आइतबार यात्रीबाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
यसअघि पाँचजनाको मृत्यु भएको बताइएपनि प्रहरीले पुनः सच्याएर तीनजनाको मृत्यु भएको जनाएको हो ।
दुर्घटनामा परी अरु २६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृत्यु हुनेमा सिम्ले-७ तेह्रथुमका उमानसिंह लिम्बू, सोही स्थानका कालीमाया लिम्बू र संखुवासभा, माम्लिङकी चार वर्षीया बालिका अन्जना याख्खा छन् ।
घाइतेमध्ये १७ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
ट्रकलाई साइड दिनेक्रममा बस भीरबाट खसेको चालकले प्रहरीसमक्ष बयान दिएका छन् । उनी सामान्य घाइते छन् ।
चालक बमबहादुर पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना४ख २८६५ नम्बरको बस गढीभीरको सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ३१ जना सवार थिए । इमेजखबरमा समाचार छ ।