५ नं. प्रदेश टुक्रयाएको विरोधमा गुल्मी बन्दले जनजिवन प्रभावित, मानव साङ्लो बनाएर प्रदर्शन

सरकारले ५ नं. प्रदेश टुक्रयाएको विरोधमा गुल्मी १२ औं दिन पनि ठप्प रह्यो । लामो समयको बन्दले जनजिवन प्रभावित बन्दै गएको छ । आन्दोलनकारीले बन्द जारी राख्दै आज गुल्मीमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् ।
 
प्रदर्शनकारीले गुल्मीको लाँकुरी मञ्चदेखि चिदीचौर, पुरानो बैंकरोड, बसपार्क, बालमन्दिर हुँदै लाँकुरी मञ्चसम्म १ किलोमिटरभन्दा लामो मानव साङलो बनाएर प्रदर्शन गरेका हुन् । १ बजेदेखि शुरु भएको मावन साङलोले झण्डै १ घण्टा जिल्ला प्रशासन, जिविस, जिल्ला अदालत, सरकारी वकिल कार्यालय घेरेको थियो । 
प्रदर्शनपछि कोणसभामा बोल्दै कांग्रेस सभापति एवं आन्दोलन संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलनका कुनै कार्यक्रम नरोकिने बताए ।
मंसिर १५ गतेदेखि शुरु भएको आमहड्तालसहितको आन्दोलनको भोली सोमबार १३ दिन पुगेको अवसरमा आन्दोलन संयुक्त संघर्ष समितिले जिल्लामा आमसभा राखेको छ । सभामा केन्द्रिय नेताहरु एमालेका सचिव प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीसहित छिमेकी जिल्लाका आन्दोलन संघर्ष समितिका संयोजकले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिरबहादुर कार्कीले बताए ।
 
५ नं. प्रदेश टुक्रयाएको विरोधमा भैरहेको आन्दोलनमा गुल्मीमा क्रियाशिल सबै राजनीतिक दलसहित विभिन्न संघसंस्थाहरुको ऐक्यबद्धता छ । लामो आमहड्तालका कारण यातायात, उद्योग व्यवसाय, बजार लगायत सबै क्षेत्र ठप्प छ । आन्दोलनमा गुल्मी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, नेपाल बार एशोसियशन, पश्चिम नेपाल बस व्यवसायी संघ, गुल्मी यातायात व्यवसायी संघ, नागरिक समाज लगायतले ऐक्यबद्धता जनाएका छन् । कान्तिपुरमा समाचार छ ।