प्रदेश टुक्रयाउने निर्णय फिर्ताको माग गर्दै १९ दिनदेखि बन्दहडताल गर्दै आएको संघर्ष समितिले आन्दोलनको स्वरूप परिवर्तन गर्ने भएको छ ।
प्रदर्शनकारीले सरकारी कार्यालयमा ताला लगाउने र प्रहरीले खोल्ने प्रयास गर्दा गत शुक्रबार झडप भएको थियो । त्यसमा १६ जना घाइते भएका थिए भने जिविस र प्रशासन कार्यालयमा तोडफोडसँगै दुई सवारी साधानमा आगजनीको घटना भएको थियो ।
दलहरूले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने र प्रशासनले पनि बल प्रयोग नगर्ने सहमतिअनुसार रणनीति फेर्न लागिएको संयोजक भुवनप्रसाद श्रेष्ठले बताए । हामी अझै छलफलमै छौं, उनले भने, प्रदर्शनलाई हामी अराजक हुन दिँदैनौं ।
तम्घासमा आइतबार प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा पुन: तालाबन्दी गर्दै प्रदेश नम्बर ५ लेखिएको बोर्ड राखेका छन् । आइतबार भने प्रहरीले बल प्रयोग गरेन ।
कर्मचारी र शिक्षक पनि आन्दोलनमा
अर्घाखाँचीमा सरकारी कर्मचारी र शिक्षक आन्दोलनमा उत्रिएका छन् । संयुक्त संघर्ष समितिले गरेको तीन दिने अर्घाखाँची आमहडतालको तेस्रो दिन आइतबार प्रदर्शनमा कर्मचारी र शिक्षक पनि सहभागी भए ।
सन्धिखर्क र चुत्राबेंसी बजारमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका आन्दोलनकारीले सबै सरकारी कार्यालयमा दिनभर तालाबन्दी गरे । जिल्ला प्रशासन, जिविसलगायत सबै कार्यालयका मूल गेटमै तालाबन्दी भएपछि कर्मचारी भित्र पस्न पाएनन् ।
आन्दोलन चलेको भएर सेवाग्राही पनि आएका छैनन्, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले टेलिफोनमा भने, कार्यालयमा चरो मुसो कोही छैन, सुनसान छ । काम नभएपछि के गर्नु घाम तापेर बसेका छौं । आन्दोलनकारीले हिंसात्मक क्रियाकलाप केही नगरेकाले जिल्ला शान्त रहेको उनले बताए ।
रचनात्मक आन्दोलन जारी
पाल्पा पाँच नम्बर प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त संघर्ष समितिले गरेको आमहडताल पाल्पामा फिर्ता लिएको छ । आइतबार समितिले फिर्ता लिएको विज्ञप्ति प्रकाशित गरेको छ ।
कोणसभामा पनि नेताहरूले तीन दिने हडताल फिर्ता लिइएको घोषणा गरे । शुक्रबारदेखि बन्द भएकाले जनजीवन प्रभावित भएको थियो । कांग्रेस सभापति वीरबहादुर रानाले रचनात्मक आन्दोलन जारी रहने बताएका छन् ।
कान्तिपुरबाट