तिवारीको हत्या प्रधानमन्त्री दाहालको उत्तेजनापूर्ण अभिव्यक्ति र गृहमन्त्रीको उक्साहटबाट भएको एमालेको आरोप

युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको सोमबार रुपन्देहीमा गोली हानी भएको हत्यामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री तथा गृहमन्त्रीलाई तानेको छ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको छ,’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अप्रत्यक्ष रुपमा प्रधानमन्त्री र गृहमन्त्रीले  उक्साएर यस्तो घटना भएको आरोप पनि लगाइएको छ। ‘देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो। आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
‘हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ लागिरहन कार्यकर्ता पंक्तिलाई हाम्रो पार्टी आग्रह गर्दछ,’ विज्ञप्तमा उल्लेख छ। सेतोपाटीमा समाचार छ ।