सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् ।


बुधबार रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले भने, सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ । मैले सहमतिका लागि कोशिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । उनले अब छिटै राजनीतिक सहमति जुट्ने दाबीसमेत गरे ।
संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री पद स्वीकार गरेको हुँ । म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।
सरकार राजनीतिक मुद्धाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्दा ओझेलमा पर्ने गरेका छन्, यसपटक मैले विकासका काममा जोड दिएको छु । विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडिरहेको छु । सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ । इमेजखबरमा समाचार छ ।