संघीय गठबन्धनद्वारा संसद अवरोध खोलेर संशोधन प्रस्ताव छलफलमा जान दिन एमालेलाई आग्रह

संघीय गठबन्धनले संसद अवरोध खोलेर संविधान संशोधन प्रस्ताव छलफलमा जान दिन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेको छ ।
 
संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले सर्वोच्च अदालतको आदेशपछि संविधान संशोधन गर्न सकिन्न भन्ने एमालेको सोचाई गलत भएको निष्कर्षसहित संसदमा अवरोध नगर्न आग्रह गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश आन्दोलनकारीको भावनाअनुरुप आयो, हामी यसको सम्मान गर्छौ बैठकपछि सद्‍भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने, अब एमालेले संसद अवरोध खोलेर संशोधन प्रस्ताव छलफलमा जान दिनुपर्छ । त्यसक्रममा हाम्रो धारणा राख्‍नेछौं ।
 
नेता सुमनले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै निर्वाचनमा जानुपर्ने गठबन्धनको अडान कायमै रहेको पनि बताए । बैठकमा उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए ।
गठबन्धनको बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा मधेसी मोर्चाको बैठक सुरु भएको छ । कान्तिपुरमा समाचार छ।