साता दिनपछि जिल्लामा दोस्रो पटक हिमपात हुन लागेको छ । पहिलो पटक गत आइतबार जिल्लाका उच्च भेगहरुमा हिमपात भएको थियो । दोस्रो पटक शनिबार बिहानैबाट मौसममा बदली भएको र लेकाली भागहरुका हिमपात सुरु भएको प्रहरीले जनाएको छ ।
गत सातादेखि मौसममा एक दिन सुधार र दोस्रो दिन खराबी हुँदा चिसोले यहाँको जनजीवन कष्टकर भएको छ । अहिलेसम्म जिल्लाका उच्च भेगहरुमा बाक्लो हिमपात नभए पनि मौसममा बदलीका कारण चिसो दिन प्रतिदिन बढ्दै गएको स्थानीयले बताएका छन् ।
जिल्लाका घुसा, खण्डेश्वरी, राप्ला, सितोला, गुल्जर, सुन्सेरा, इयरकोट लगायतका दर्जन बढी गाविसका विभिन्न बस्तीहरुमा हिमपात सुरु भएको स्थानीयले बताएका छन् । बिहानैबाट मौसममा बदली भएको र इयरकोट लक्जरी गाउँमा दिउँसोबाट पानीसँगै हिमपात सुरु भएको इयरकोटका शिक्षक जनकराज भट्टले बताए । मौसममा २/३ दिन अघिसम्म मौसममा आंशिक खराबी रहेको र शनिबार दिउँसोबाट हिमपात नै सुरु भएको उनको भनाइ छ ।
यहाँका उच्च हिमालहरुमा मौसममा हल्का बदली हुनेबित्तिकै हिमपात हुने गरेको र गत आइतबार यो शनिबार बस्तीमा समेत हिमपात भएको उनले बताए । जिल्लाका उच्च भेगमा बस्ती भएका घुसा र खण्डेश्वरी गाविसका होचाबाहेक अन्य सबै गाउँमा हिमपात हुन थालेको खण्डेश्वरीका स्थानीय कल्यानसिंह बोहराले जानकारी दिए ।
त्यस्तै मौसममा आएको बदली शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगा लगायत आसपासको क्षेत्रमा पानी पर्न सुरु भएको छ । वर्षा सुरु भएसँगै चिसो बढेको छ । कान्तिपुरमा समाचार छ ।