विपक्षी दलहरुको विरोधका बीच सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेको छ ।
आइतबार बसेको संसदको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले विपक्षी ९ दलहरुको नाराबाजी र होहल्लाका बीच संशोधन विधेयक पेस गरेका हुन् ।
संशोधन विधेयक पेस हुनअघि कानुनमन्त्री नायकले स्थानीय निर्वाचनसम्बन्धी विधेयक पेस गरेका थिए । विधेयक पेश गर्न रोष्ट्रममा पुगेका कानुनमन्त्री त्यहीं बसे । पछि सभामुख ओनसरी घर्तीले संविधान संशाेधन विधेयक पेस गर्न उपप्रधानमन्त्री निधिलाई भनेपछि उनको तर्फबाट राेष्टम नजिक रहेका कानुनमन्त्री नायकले संशोधन विधेयक पेस गरेका हुन् ।
संसदको आइतबार नै बसेको पहिलो बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो । यसअघि प्रमुख प्रतिपक्षीसहितका दलहरु उभिएको अवस्थामा सदन अवरोध हुने चलन थियो ।
यसैबीच, आफूहरुको विरोधका बाबजुद संसदमा संशोधन प्रस्ताव प्रस्तुत हुनुलाई विपक्षीले ‘लज्जास्पद घटना’ भएको प्रतिक्रिया दिएका छन् । संसद भवनबाट बाहिरिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले भने, संसारमै नभएको संसदीय अभ्यासविपरीत सभामुख जानुभयो । उहाँले संशोधन विधेयक प्रस्तुत गर्न अनुमति दिनुभयो, यो लज्जास्पद घटना हो । उनले आफूहरुको विरोधलाई निरन्तरता दिने पनि बताए ।
विधेयक पेस गर्न अनुमति दिनुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा गौतमले भने, टेबुल गर्ने विषयमा कुनै अनुमति दिएको छैन । संसदको गतिरोध अन्त्यको लागि संसद बैठकअघि बसेको प्रमुख तीन दलका शीर्ष नेता बैठक बिना निष्कर्ष सकिएको थियो । कान्तिपुरमा समाचार छ ।