राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५औँ जन्मजयन्ती विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलले विभिन्न कार्यक्रम गरी मनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको छ ।
त्यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताए ।
कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।
यस्तै शिव सेना नेपालले पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा १०८ मिटर लामो माला चढाएको छ । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।